क्यान्सर रोगका उपचारसम्बन्धी सम्पूर्ण सेवा प्रदान गर्न नेपाल क्यान्सर हस्पिटल एन्ड रिसर्च सेन्टर स्थापना गरिएको छ ।

क्यान्सर रोग विशेषज्ञ, क्यान्सरबाट बाँच्न सफल व्यक्ति, क्यान्सर पीडित परिवार तथा केही प्रतिष्ठित व्यवसायीको संयुक्त पहलमा ललितपुर जिल्लाको हरिसिद्धि गाविसमा सो सेन्टर स्थापना गरिएको हो । केही भौतिक निर्माण तथा उपकरण जडान कार्य बाँकी रहेकाले सेन्टरले आगामी माघ महिनादेखि मात्र आफ्नो सेवा सुरु गर्ने जनाएको छ ।

सेन्टरका अध्यक्ष डा सुदीप श्रेष्ठले दिनुभएको जानकारीअनुसार सेन्टरको शय्या क्षमता १५० रहेको छ भने आगामी दिनमा २५० पु¥याउने लक्ष्य राखिएको छ । सेन्टरले मेडिकल अन्कोलोजी(किमो थेरापी क्यान्सर), सर्जिकल अन्कोलोजी(शल्यक्रिया गर्नुपर्ने क्यान्सर), गाइने अन्कोलोजी (स्त्री क्यान्सर) पेडिएट्रिक अन्कोलोजी(बालबालिका क्यान्सर), युरो अन्कोलोजी(मुत्र क्यान्सर), हेड एन्ड नेक अन्कोलोजी(टाउको तथा घाँटी क्यान्सर), बोन म्यारो ट्रान्सल्पान्ट(रगत क्यान्सर), थोरासिक अन्कोलोजी(छाति क्यान्सर), अर्थाेपेडिक अन्कोलोजी (हड्डी क्यान्सर) जस्ता सेवा प्रदान गर्नेछ ।

रेडिएसन अन्कोलोजी(रेडियो विकीरणबाट गरिने उपचार) र विश्वमा क्यान्सर रोगका लागि उत्कृष्ठ ठानिएको आइएमआरटी÷आइजिआरटी (इमेज गाईडेड रेडिएसन थेरापी) प्रविधि एकवर्षभित्रमा सेन्टरले प्रयोगमा ल्याउने अध्यक्ष डा श्रेष्ठले जानकारी दिनुभयो ।

भारतको राजिव गान्धी क्यान्सर इन्स्टिच्युट एन्ड रिसर्च सेन्टरसँग प्राविधिक सेवा सम्झौता सो सेन्टरले गरेको छ । आधुनिक सूचना प्रविधिको उपयोग गर्दै टेलिमेडिसियन, इमेडिसिन, स्याटेलाइट क्लिनिक, मोबाइल सर्भिजजस्ता सेवा प्रदान गरी उपचार गरिने पनि सेन्टरले लक्ष्य लिएको छ ।

क्यान्सरका रोगी विदेशी भूमिमा गएर उपचार गर्ने विद्यमान अवस्थालाई अन्त्य गर्न नेपालमा नै सुविधा सम्पन्न क्यान्सर अस्पताल स्थापना गरी सेवा प्रदान गर्न लागिएको अध्यक्ष डा श्रेष्ठले जानकारी दिनुभयो ।

एक अध्ययनका अनुसार नेपालबाट सो रोगको उपचारका लागि बर्सेनि दुई अर्बभन्दा बढी विदेशिने गर्दछ । नेपालमा कुनै न कुनै प्रकारका क्यान्सर रोगीको सङ्ख्या ६० हजारभन्दा माथि रहेको बताइएको छ ।

उपचारात्मक सेवाका साथ साथमा सेन्टरले क्यान्सर रोगका बारेमा जनचेतनाका कार्यक्रम, अनुसन्धान तथा तालिमका कार्यक्रम पनि सञ्चालन गर्ने लक्ष्य लिएको छ । पैसाका अभावमा कुनै पनि क्यान्सर बिरामीले अकालमा मृत्युवरण गर्न नपरोस् भन्नाका लागि सेन्टरले च्यारिटी कोषको स्थापना गर्ने भएको छ । अध्यक्ष डा श्रेष्ठले कोषले खासगरी ग्रामीण विपन्न क्यान्सरका रोगीलाई निःशुल्क उपचारको प्रबन्ध मिलाइएको बताउनुभयो ।

क्यान्सर रोगको मात्र उपचार बिपी कोइराला क्यान्सर अस्पताल भरतपुरमा हुने गर्दछ । अध्यक्ष डा श्रेष्ठले भन्नुभयो– “क्यान्सरसम्बन्धी सम्पूर्ण उपचार सेवा अपर्याप्त भएकाले नै हामीले निजी क्षेत्रबाट सस्तो र गुणस्तरीय सेवा दिन सेन्टर स्थापना गरेका हौँ ।”

क्यान्सर बिरामीको उपचारको क्रममा उनीहरुसँग गरिने व्यवहारको विषयमा देखिने गुनासोलाई सम्बोधन गर्न सेन्टरले कर्मचारीलाई शैली र व्यवहारसम्बन्धी विशेष प्रशिक्षण पनि दिएको जनाएको छ ।